लेखक :- प्रबिन रिमाल
प्रिय पारिजात,
तिमी कहाँ छौ , कुन दुनियामा पुगेकी छौ मलाई थाहा छैन । सायद अहिले तिमी स्वतन्त्र छौ हरेक चिजले । तिम्रो मस्तिष्कको वेगमा (तिमीले लेखेजति) म प्राय डुब्ने गर्छु , त्यो भन्दापनि आफ्नै हो झैं लाग्छ । लाग्छ मेरो जिवन जिएर तिमीले लेखेकी हौ । तिमीलाई नाम त पारिजात राखिदिए तर तिम्रो सुगन्ध कम पिडा र वेदनाको गन्ध लेखिएको मिसीले बुझाउँछ । तिमी सायद नादान थियौ वा तिमीले पाठक लाई आफु लाटी र सोझी भएको कुरा बुझाउन चाहयौ । किन ? यि साहित्यको गहन लेखाइ यसै सोझासाझा ले कहाँ बुझ्छन र ? यि सोझासाझा ले लेख्ने भाषा कहाँ हुन र ? तिमीले त आफु लाटी सोझी भनेर आफ्नो चतुर्याई देखाउँदै एकान्तको साथी ति कलम र पाना हरुलाई बनायौ । आफ्नो व्यथा सुनाउन निर्जिव वस्तुको साथ पायौ । तिमी ले यो गर्यौ त्यो गर्यो तिमीलाई नै सम्झाउनु पर्ने खास त केहि छैन । किनकी तिम्रो जिवनकाल सक्किसकेको थियो म जन्मदा ।
तिमीले लेखेका किताबले कहिले ध्यान केन्द्रित भएर आउँछ त , कहिले तिम्रो चरम पिडा र मानसिक अवस्था लाई थौरै मात्र पिडाबोध गर्दा बिरक्त लागेर आउँछ । तिम्रो मानसिक अवस्था परिवर्तन र चल्मलाउनु नै नेपाली साहित्यको क्षेत्रमा बाटो देखाए झैं भएको छ । नेपाली साहित्य क्षेत्रमा नाम सम्झिल्याउँदा तिम्रो नाम मनसपटल मा आइ नै हाल्छ । नआउन पनि किन ? तिम्रो लेखाइ ले हरेकको ध्यान केन्द्रित हुन बाध्य पार्छ । तिम्रो भोगाई सहनशिलता, सरलपनले गर्दा । तिमी यस्तो छौ त्यस्तो भनेर मैले सम्झाइ रहनुपर्दैन किनकी तिमी कस्तो छौ तिमीलाई नै थाहा छ । तिम्री बहिनी तिमीलाई पारिजात भन्न रुचाउँदिन किनकी पारिजातले पनि यति बिघ्न पिडा सहनु पर्दैन एक जिवनकाल मा जति तिमीले सहे जति, त्यसैले तिम्रो बहिनी सुकन्या तिमीलाई अपराजिता भन्न रुचाउँछिन् ।
तिमीले आफ्नो शारिरिक अवस्था त्यति खुलाएको छैनौ जति तिमी अपुर्ण भए अनुसार । जति तिमी पाठक वर्गलाई पढाउन चाहन्छौ त्यति मात्रै लेखेका छौ । तिमीलाई प्रत्यक्ष देख्ने मात्र थाहा पाउन सक्छ तिम्रो अवस्था तिमीले लेखेको किताब,उपन्यास संस्मरण, कविता पढेर तिमीलाई बुझ्न र थाहा पाउन गाह्रै छ । मैले भन्दा तिम्रो शारिरिक अवस्था प्रति होच्याए जस्तो होला तर अपाङ्गहरुले तिम्रो किताब पढ्दा बुझ्दा केहि हद सम्म हौसला पाउने छन । यो भन्दै गर्दा सध्य चैं विरक्ति रहन्छन् भन्न चाहेको होइन । तिमी के हौ तिम्रो गहिराइ बुझ्न गार्हो पर्छ। हुन त तिमीले लेखेका दुई चार वटा किताब पढ्दैमा मैले तिमीलाई बुझें जसरी लेख्नु गलत हुने छ । तिम्रो विकार कम देखिएको र लेखिएको छ त्यो तिम्रो चाहना हो । भयो तिमीलाई खण्ड खण्ड औँल्याएर यो हो र त्यो हो भन्न चाहिँन ।
बरु एक मान्छे छे तिम्रो जस्तै मन भएको स्चाभिमानी थौरै नटखटकी अनि जिम्मेवार छोरी ।
पारिजात तिमी त सानै समयमा रोगले सताएर ग्रसित भयो त्यस सँग लड्ने हिम्मत भरपुर सँगालेर राख्यौ त्यस्तै मैले चिनेको मान्छे पनि तिमी जस्तै हिम्मतिलो छे,अनि
आवेगी पनि । आवेगमा धेरै आउँछे, हुन त त्यो आवेग नहुन पनि सक्छ । मनको भडास निकाल्ने माध्यम पाए पछि खुलेर निकाल्छे । उ उकुसमुकुस भएकी छे, उसले खुल्ला आकाशमा निस्फिक्री स्वास लिन पाएकै छैन । उमेर भन्दा पहिल्यै नै जिम्मेवारको बोझले थिचिसकेकी छे । यो कुरा गर्दा म यसै विरक्तिएर आउँछु । कुनै एक नादान आत्मा आफ्नो शरिर भन्दा ठुलो जिम्मेवार बोकेको देख्दा आफैँलाई पिडाबोध हुन्छ र म गहिराईमा पुग्न नै चाहन्न ।
बिष्णु कुमारी वाइवा तिमी पारिजात भएर सबका माझ प्रसिद्ध छौ तर उमा बिडारी मेरो निम्ति मात्र आवेगी भएर मेरो मानसपटलमा प्रसिद्ध रहने छिन । किनकी आवेगीको उपमा ( दृष्टान्त, समान रुपमा गुण देखाउने) मैले नै दिएको हो । उमा मा विभिन्न विचार तर्कको तेजिलो राप भेटिन्छ । उ तिखार्न बाँकी रहेको एक सिसाकलम हो । लेख्न सुरु गर्नु भन्दा अगाडी तयार गरिएको कलम हो । पारिजात तिमीलाई बर्षा ऋतु मन पर्छ तर उमा लाई बसन्त सायद बर्षा पनि राम्रो लाग्छ भनेकी थिइ । तर त्यो ऋतु थियो कि झरि थाहा छैन । पारिजात तिमीले प्रेम सम्बन्ध को कुरामा प्रेम शब्द सँग कहिले घृणा गर्यौ त कहिले तिमीलाई निस्वार्थ प्रेम गर्ने मानिसलाई टाढा राखिरह्यौ । तिम्रो मानसिक अवस्थाले केहि त सोच पुर्याएर अल्ग्यायौ भने केहि आफुले पुरा गर्न नसक्ने ठानेर आफ्नो प्रेम अरुलाई देखाएनौ । तिमी यो जिवन केहि अँगालेर त केही रित्याएर गयौ तर आवेगी को सम्बन्धमा उसको जिवनको हरेक क्षण र मोडहरुमा यात्रा कस्तो रहन्छ हेर्न बाँकी नै छ ।
यहाँ यि कुरा लेख्दै गर्दा मैले आवेगीलाई सम्झिएको होइन, मैले त तिमीलाई सम्झिएको हो पारिजात । तिमीले सहेकी समस्याले हरकोहीमा तिमी प्रति सहानुभुति पलाउनु स्वभाविक हो तर म भने केहि फरक तवर बाट तिमीलाई हेर्दैछु बुझ्दैछु, मन पर्न थालेको छ तिम्रो दुखद् क्षणहरु आफ्नै जसै गरि पिडा र अैठन महसुस गर्न थालेको छु ।
उम् एउटा थौरै भन्छु। धेरै भन्दा धेरै भन्दा त्यो कुरा प्रति चासो रहेको हुनाले त्यहि कुरा गर्यौ भन्लाउ फेरि । तिमी तिम्रो समयमा आफ्नो समस्याको जालोमा बेरिदैँ गर्दा नेपाली समाजमा राजनैतिक अवस्था परिवर्तन भइरहेको थियो यि कुरा तिमी सँग प्रत्यक्ष नजोडिए पनि अप्रत्यक्ष रुपमा जोडिएको छ । तिम्रो साहित्य लेखन तथा सम्पादन र छपाई माध्यम बाट पाठक माझ पुगिरहँदा तिमी नेपाली भुमिमा हुँदा विपी कोइराला ले लिइरहने स्वास र तिमीले लिने स्वास एकै समय र एकै कालखण्ड थियो । यो कुरा सम्झँदा अचम्मित भएको छु, किनकी तिमी र विपी कोइराला एकै समयमा नेपाली साहित्यको निम्ती कलम चलाईरहेका थियो । यि कुरा थाहा पाउँदा मन खुसी भएर आउँछ, यसले हौसला प्रदान गर्दछ । पारिजात तिमी प्रति प्रेम जताउन अर्को एक पत्र म पक्कै लेख्नेछु । पारिजात तिम्रो स्पर्श गर्न मैले अक्टोबर नै कुर्नु पर्ने त होला नि होइन र कि कसो ? बाँकी प्रेम छ ।


