ड्युटीको पीडा र जनताको विश्वास: प्रहरीको अदृश्य संघर्ष।
काठमाडौं – नेपाल प्रहरी संगठन केवल अपराध नियन्त्रण गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र कानूनको शासन कायम राख्ने मेरुदण्ड हो। यस संस्थाको भूमिका देशको अस्तित्व र नागरिकको स्वतन्त्रताको आधार हो। सडकमा हामी नडराई हिँड्न सक्ने अवस्था, चाडपर्वमा भीडभाडमा रमाउन पाउने स्वतन्त्रता, वा विपत्तिको घडीमा तुरुन्तै सहयोगको अपेक्षा गर्न सक्ने भरोसा—यी सबै कुरा प्रहरीको निरन्तर खटाइ र त्यागको परिणाम हुन्।
तर प्रहरीको जीवन र पेशागत दायित्व सामान्य १०–५ को कार्यालय समयजस्तो हुँदैन। प्रहरीका लागि बिहान, बेलुकी, घाम, वर्षा, चिसो, गर्मी—यी सबै केवल मौसमका शब्द मात्र हुन्, काम रोक्ने कारण होइनन्। अपराध, दुर्घटना, प्राकृतिक प्रकोप वा आकस्मिक घटना—जसले बोलायो, त्यतै पुग्नु उनीहरूको कर्तव्य हो। रातको अँध्यारोमा दुई बजे घटना भएको खबर आयो भने उनीहरूले निद्रा, थकान, र व्यक्तिगत सुरक्षालाई बेवास्ता गर्दै घटनास्थलमा पुगेर काम सुरु गर्छन्। चुनावको बेला, कहिले त उनीहरू १८–२० घण्टासम्म लगातार उभिएर ड्युटी गर्न बाध्य हुन्छन्। दशैं, तिहार, नयाँ वर्षजस्ता चाडपर्वमा जब नागरिक आफ्ना प्रियजनसँग रमाइरहेका हुन्छन्, प्रहरी भने सडकमा, चोकमा, प्रवेशद्वारमा वा भीडभाडका स्थानमा सुरक्षाकर्मीको रूपमा खटिरहेका हुन्छन्।
यो निरन्तर ड्युटीको पीडा बाहिरबाट सहजै बुझिँदैन। लामो समयसम्म खुट्टामा उभिँदा हुने सुन्निने पीडा, मुसलधारे वर्षामा भिजेर ड्युटी गर्नुपर्ने बाध्यता, तातो घाममा पसिना बगाउँदै भीड नियन्त्रण गर्नु, वा चिसोको मौसममा जिउ कठ्यांग्रिएर पनि जिम्मेवारी पूरा गर्नु—यी सबै उनीहरूको पेशागत जीवनको सामान्य भाग बनेका छन्। कहिले त बिरामी हुँदा पनि प्रहरी ड्युटीमा खटिन्छन्, किनकि उनीहरूको अभावमा हुने क्षतिले नागरिकको सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ।
तर यति धेरै त्याग र इमानदारी हुँदाहुँदै पनि संगठनको छवि सधैं चम्किलो रहँदैन। यसको प्रमुख कारण हो—थोरैको लापरबाही। संगठनभित्र हजारौं प्रहरीहरू दिन–रात जनताको सेवामा खटिएका हुन्छन्, तर यदि एक–दुई व्यक्तिले घूस लियो, अधिकार दुरुपयोग गर्यो, वा गैरपेशागत आचरण देखायो भने, जनताको दृष्टिमा सम्पूर्ण प्रहरी संगठन नै दोषी ठहरिन्छ। यसले मेहनती प्रहरीहरूको मनोबलमा ठूलो चोट पुर्याउँछ।
यसमा अर्को पीडादायक पक्ष हो—जस नपाउनु। अपराध हुन नदिन गरिएको सतर्कता, घटनाबाट बचाउन गरिएको तत्काल हस्तक्षेप, वा संकट टार्न गरिएको पहरेदारी—यी सबै कुरा प्रायः जनताले देख्दैनन्। समाचारमा अपराध भएको कुरा छिटो आउँछ, तर अपराध रोकिएको कुरा क्वचित मात्र सार्वजनिक हुन्छ। जस दिनुपर्ने बेला मौन रहिन्छ, तर दोष दिनुपर्ने बेला आलोचना मात्र ठूलो आवाजमा हुन्छ।
एक प्रहरी अधिकृतका शब्दमा, “काम गर्दा गर्दा पनि कहिले काहीँ यस्तो निरासा आउँछ, जब हाम्रो वास्तविक सेवा भन्दा हाम्रो आलोचना बढी सुन्नुपर्छ।” उनीका अनुसार, केही मिडियाले प्रहरीको पीडा बुझ्ने प्रयास नगरी संगठनलाई केवल नकारात्मक कोणबाट प्रस्तुत गर्दा, त्यसले संगठनभित्रका इमानदार सदस्यहरूको उत्साह घटाउँछ। धेरै पटक अपराध नियन्त्रणको सफल प्रयास समाचारको विषय बन्दैन्, तर सानो गल्ती वा विवाद भने तुरुन्तै चर्चामा आउँछ।
प्रहरीको निष्पक्षतामा अर्को ठूलो चुनौती हो—राजनीतिक हस्तक्षेप। कतिपय घटनामा राजनीतिक दबाबका कारण अनुसन्धान प्रभावित हुन्छ वा कारबाही अधुरो रहन्छ। यसले संगठनको विश्वसनीयता मात्र होइन, जनताको भरोसा पनि कमजोर बनाउँछ। यद्यपि, पछिल्लो समय केही घटनाले सकारात्मक संकेत देखाएका छन्। सरकारकै संरक्षक मानिएका केही व्यक्तिहरूलाई पक्राउ गर्न काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीले देखाएको साहस र निष्पक्षताको कारण प्रहरी संगठनप्रति जनताको विश्वास पुनः बढ्न थालेको छ। यसले प्रमाणित गरिदिएको छ कि यदि इच्छाशक्ति र इमानदारीसँग काम गरियो भने, राजनीतिक दबाबको सामना गर्दै पनि जनताको भरोसा पुनः हासिल गर्न सकिन्छ।
यसरी हेर्दा, प्रहरीको पेशा केवल जागिर होइन—यो एक प्रकारको जीवनशैली हो, जसमा व्यक्तिगत समय, स्वास्थ्य र सुविधाभन्दा पनि सार्वजनिक सेवा अग्रस्थानमा रहन्छ। तर यस पेशाको स्थायित्व र प्रभावकारिताका लागि संगठनभित्र आन्तरिक सुधार अपरिहार्य छ। भ्रष्टाचार र लापरबाहीलाई कठोर रूपमा नियन्त्रण गर्नुपर्छ, राजनीतिक हस्तक्षेप घटाउनुपर्छ, र पारदर्शिता बढाउनुपर्छ। साथै, प्रहरीको मानसिक स्वास्थ्य, पारिवारिक जीवन र व्यक्तिगत सुरक्षाको ख्याल राख्ने प्रणालीलाई राज्यले सुनिश्चित गर्नुपर्छ। आधुनिक प्रविधि, पर्याप्त स्रोत, र निरन्तर तालिममार्फत मात्र प्रहरीको क्षमता र जनविश्वास दुवैलाई मजबुत बनाउन सकिन्छ।
“प्रहरि र जनता एउटै समाजका दुई अविभाज्य अंग हुन्। जनताको सुरक्षाबिना प्रहरीको अस्तित्व अधूरो हुन्छ, र प्रहरीबिना जनताको स्वतन्त्रता असुरक्षित हुन्छ। त्यसैले, केहीको गल्तीलाई आधार बनाएर सम्पूर्ण संगठनको छवि बिगार्नुको सट्टा, इमानदार र समर्पित प्रहरीलाई सम्मान गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो। प्रहरीको मूल्य वर्दीमा होइन, उनीहरूले गरेको त्याग र निष्पक्ष सेवामा नापिनुपर्छ। र त्यो मूल्य समाजले समयमै चिन्न सक्दा मात्र प्रहरी र जनताबीचको विश्वास बलियो हुनेछ, जसको आधारमा राष्ट्रको शान्ति र स्थायित्व सुनिश्चित हुनेछ।


