वितरक प्रचन्डमान श्रेष्ठको बुझाइमा करिब ७० प्रतिशत फिल्म कन्टेन्ट नै कमजोर भएका कारण असफल हुन्छन् । बाँकी १५ देखि २० प्रतिशत भने राम्रो हुँदाहुँदै पनि समय, समाज र परिस्थितिको तालमेल नमिल्दा चल्न सक्दैनन् ।
- नेपाली फिल्म उद्योगमा लगानी दिनानुदिन बढ्दै जाँदा अधिकांश फिल्मले लागतसमेत उठाउन नसक्ने अवस्था देखिएको छ।
- कमजोर कन्टेन्ट, प्रचारप्रसारमा कमजोरी, बजारको असन्तुलन र प्राविधिक समस्याका कारण धेरै फिल्म घाटामा गएका छन्।
- केही फिल्मले मात्र उल्लेख्य व्यापार गर्न सफल भए पनि समग्रमा नेपाली फिल्मप्रति दर्शकको विश्वास घट्दो छ।
काठमाडौँ — पछिल्लो समय नेपाली फिल्म करोडभन्दा कममा सायदै बन्छन् । नियमित फिल्म बनाइरहेका कतिपय निर्माताको अनुभवले भन्छ, ‘दुई करोडभन्दा घटी त चिताउनै पर्दैन ।’

लगानी नै करोडमाथिको ग्राफमा दिनानुदिन उक्लिरहेका नेपाली फिल्महरूको कमाइको अवस्था भने चिन्ताजनक छ । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार यही चैतमा रिलिज भएको फिल्म ‘हामी तीन भाइ’ले ६ लाख ५३ हजार मात्र कमायो । नियमित फिल्म बनाइरहेका निर्देशक दिनेश राउतकै गत माघमा रिलिज भएको ‘कुमारी’ले पनि ६६ लाख २५ हजार ४ सय ५१ भन्दा माथिको व्यापार गर्न सकेन । जबकि, रिलिजसम्म पुग्दा निर्माण टिमका अनुसार फिल्मको लगानी ३ करोडभन्दा माथि थियो । चलचित्र विकास बोर्डले जारी गरेको १ बैशाखदेखि १८ चैत २०८२ सम्मको तथ्यांकअनुसार यो वर्ष रिलिज भएका ५६ फिल्ममध्ये ३७ फिल्मको कमाइ त करोडभन्दा कम थिए ।
कुनै समय नेपाली फिल्मका चर्चित अनुहार अभिनेता दिलिप रायमाझीको ‘कमब्याक’ फिल्म गत जेठमा रिलिज भएको ‘हेल्लो काशीराम’ले त ३४ हजार २०० मात्र कमायो । १९ फिल्मले मात्र १ करोडमाथिको व्यापार गरेका थिए । त्यसमध्ये पनि १० करोडमाथि कमाउने फिल्म ४ मात्रै थिए । जसले लगानी सुरक्षित गरेर नाफा कमाउन सफल भए ।
निर्देशक आशान्त शर्माले गत भदौमा रिलिज भएको फिल्म ‘ताराहरू’ बनाउने क्रममा कलाकारहरूलाई सेयरमा राखे । निर्देशक र लेखकको पैसा नजोडी कलाकारलाई सेयरमै राख्दा पनि उनको फिल्ममा लगानी १ करोड थियो । कम बजेटमा फिल्म बनाउँछु भनेर लागि पर्दा पनि सोचेभन्दा दोब्बर तेब्बर खर्च उनले व्यहोर्नुपरेको थियो । ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्मको अत्यधिक सफलतापछि नेपाली फिल्म निर्माणको लागतमा उल्लेख्य वृद्धि भएको रहेछ । प्राविधिकहरूको दैनिक पारिश्रमिक र उपकरणको भाडा मात्र नभई सम्पादन तथा साउन्ड डिजाइन जस्ता पोस्ट-प्रोडक्सनका कामहरूको शुल्क बढेको रहेछ । पहिले निःशुल्क वा हार्दिकताका साथ उपलब्ध हुने छायांकन स्थलहरूमा अहिले चर्को शुल्क तिर्नुपर्ने भएछ,’ आशान्त भन्छन् ।
तर, फिल्मले व्यापार भने ३ लाख ८७ हजार मात्र गर्यो । एउटा निर्माताका लागि यो परिणामले दिने पीडा कम थिएन । ‘यो मेरो पैसा मात्र हैन । दाल भात पनि यसैबाट जोहो हुने हो । आर्थिक रुपमा त ढाडै भाँचिएजस्तो भयो,’ आशान्त सुनाउँछन् । उनी अहिले लाखौं ऋणमा छन् । तैपनि, हिम्मत हारेका छैनन् । ‘मेरो ठाउँमा अरू कोही भएको भए सायद फिल्म क्षेत्र नै छाडेर भागिसक्थे होलान्, तर म यसैमा संघर्ष गरिरहेको छु,’ उनी थप्छन् ।
आशान्त आफ्नो फिल्मले मात्र हैन, अधिकांश फिल्म घाटामा गइरहेको घटना सम्झेर मन बुझाउँछन् ।
२०८१ सालको ‘ब्लकबस्टर’ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र ४८ करोडको व्यापार गर्यो । तर, ०८२ मा रिलिज भएको उनकै नयाँ फिल्म ‘अभिमन्यु’ले भने २१ लाखको मात्र व्यापार गर्यो । जबकि, फिल्म करिब १ करोड १५ लाख लागतमा तयार भएको थियो । फिल्मले ऐतिहासिक रेकर्ड बनाउँदाको अनुभव साटेका उनै विनोदलाई अर्को फिल्मका कारण भएको १ करोड घाटाको अनुभूति पनि आलो नै छ । मंसिरमा रिलिज भएको ‘अभिमन्यु’को समयमा आन्दोलन, बन्द-हड्ताल र खराब मौसम (बाढी पहिरो) जस्ता कारणले रिलिज मिति पटक-पटक सार्नुपर्यो । जसले गर्दा मार्केटिङ खर्च मात्र बढ्यो । ‘त्यसबाहेक नेपाली चलचित्र उद्योगभित्रको ‘फोहोरी राजनीति’ले मलाई निकै पीडा दियो । वितरक र हल सञ्चालकहरूले ठूला फिल्मलाई मात्र प्राथमिकता दिने र साना फिल्मलाई शो नै नदिने वा ब्लक गर्ने प्रवृत्तिले पनि असर गर्यो,’ उनी भन्छन् । तैपनि, आफू विचलित नभएको ठान्छन् उनी । भप्छन्, ‘म विचलित छैन, किनभने मलाई विश्वास छ कि राम्रो कन्टेन्ट हलमा नचले पनि पछि युट्युब र ओटीटी जस्ता डिजिटल प्लेटफर्ममा दर्शकले अवश्य खोज्नेछन् ।’ अहिले उनी नयाँ फिल्म ‘रोल नम्बर वान’ रिलिजको तयारीमा छन् । उनका अनुसार यो फिल्म भने २ करोड लगानीमा तयार भएको छ ।


