गाउँ–गाउँमा नेपाल प्रहरी, नागरिकसँग प्रत्यक्ष संवादमा इन्सपेक्टर गोविन्द भण्डारी
प्रहरीको काम अपराध भएपछि मात्रै पुग्ने होइन, अपराध हुनै नदिन समुदायसँग हातेमालो गर्नु पनि हो। यही सोचलाई व्यवहारमा उतार्दै मकवानपुरको ईलाका प्रहरी कार्यालय पालुङले कैलाश गाउँपालिकामा चारदिने जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।
असार १९ देखि २२ गतेसम्म वडा नं. १, २, ५ र ६ का विभिन्न बस्तीमा पुगेको प्रहरी टोलीले अवैध लागूऔषध (गाँजा, अफिम) नियन्त्रण, चोरी–डकैती रोकथाम, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा सामाजिक विकृतिविरुद्ध माइकिङ र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्यो।
अभियानको विशेष पक्ष भने कार्यालय प्रमुख इन्सपेक्टर गोविन्द भण्डारी स्वयं प्रहरी टोलीको नेतृत्व गर्दै गाउँ–गाउँ पुगेका थिए। स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षा सचेतना फैलाउने र समुदायका गुनासा तथा सुझाव सुन्ने कार्यलाई उनले प्राथमिकता दिए।
समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो अभियानले स्थानीयमा सकारात्मक सन्देश दिएको छ। प्रहरी नागरिकको घरदैलोमै पुगेर विश्वासको सम्बन्ध विस्तार गर्ने यस्तो अभ्यासले शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


