बर्दियामा लागुऔषध सेवन गरी सवारी चलाउने चालकको सवारीचालक अनुमतिपत्र खारेज
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवन गरी सवारी चलाउने पाँचजना चालकको सवारीचालक अनुमति पत्र खारेज गर्नका लागि पत्राचार गरिएको छ ।
हुलाकी सडकखण्डमा चेकजाँचको क्रममा लागुऔषध सेवन गरी सवारी चलाएका चालकको सवारीचालक अनुमतिपत्र खारेज गर्नका लागि यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
उनले भने, ‘मादक पदार्थ र लागुऔषध सेवन गरी सवारीसाधन चलाउन पाइँदैन। यात्रु बोक्ने गाडी चलाउने पाँचजना चालकले चेकजाँचको क्रममा लागुऔषध सेवन गरी गाडी चलाएको पाएपछि ट्राफिकले सवारीचालक अनुमतिपत्र खारेज गर्न सम्बन्धित निकायलाई पत्रकार गरेको हो ।’
पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको छ । दुर्घटनामा परी चालु आर्थिक वर्ष ०८२/८३ मा सडक दुर्घटनामा ४६ जनाको मृत्यु र ९०८ जना घाइते भएका छन् । त्यसैगरी गत आर्थिक वर्ष ०८१/८२ मा सडक दुर्घटनामा ३८ जनाको मृत्यु र ७५८ जना घाइते भएका छन् भने आर्थिक वर्ष ०७९/८० मा सडक दुर्घटनामा २६ जनाको मृत्यु र ९९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै नियमित र छड्के चेकजाँच, मादक पदार्थ सेवन र लागुऔषध सेवनको जाँच गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए ।
उनले भने, ‘सडक दुर्घटनाका कारणहरूमध्ये लागुपदार्थ सेवन र मादक पदार्थ सेवन पनि एक प्रमुख कारण हो । त्यही भएर पनि ट्राफिक प्रहरीले सवारीसाधन चलाउने चालकको मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको चेकजाँचसमेत गर्दै आइरहेको छौँ। यस्ता चेकजाँचले सडक दुर्घटना कम गर्न मद्दत गर्छ ।
बर्दियामा लागुऔषध सेवन गरी सवारी चलाउने चालकको सवारीचालक अनुमतिपत्र खारेज

