डीएसपी निशान्त श्रीवास्तवको टोलीद्वारा ६ लाख २२ हजारका नक्कली नोटसहित ६ जना पक्राउ
बुटवलको नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेकाहरूको घर तथा डेरामा गरिएको खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरिएको हो। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको छ।
डीएसपी निशान्त श्रीवास्तवको टोलीद्वारा ६ लाख २२ हजारका नक्कली नोटसहित ६ जना पक्राउ

