बाँके जिल्लाका ट्राफिक इन्सपेक्टर कनक शाही ‘जेठ महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
बाँके जिल्ला ट्राफिक प्रमुखका रूपमा कार्यरत इन्सपेक्टर कनकबहादुर शाही २०८३ साल जेठ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन् । इन्सपेक्टर शाहीले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा ट्राफिक नियम कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले इन्सपेक्टर शाहीलाई २०८३ साल जेठ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।
कार्यालयका अनुसार शाहीको नेतृत्वमा जेठ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८०७ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १५ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यस अवधिमा सवारी चालक, सहचालक तथा सवारीधनीलाई लक्षित गरी १५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, ध्वनि प्रदूषण गर्ने तीनवटा मोटरसाइकलमाथि कारबाही, २३१ वटा सवारीसाधनको यान्त्रिक परीक्षण, अटो तथा ई–रिक्सा व्यवस्थापन, सडक अनुशासन कायम तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गरिएको छ।
बाँके जिल्लाका ट्राफिक इन्सपेक्टर कनक शाही ‘जेठ महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

