एसएसपी दिपक पोखरेलद्वारा बालमैत्री तथा स्तनपान कक्षको समुद्घाटन सम्पन्न
नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवा, रूपन्देहीमा कार्यरत महिला प्रहरी कर्मचारीहरूका लागि थप सहज, सुरक्षित र कार्यमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको बालमैत्री कक्ष तथा स्तनपान कक्षको उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले समुद्घाटन गर्नुभयो ।
बालमैत्री कक्षमा बालबालिकाको सिकाइ, सिर्जनशीलता र मनोरञ्जनलाई ध्यानमा राखी स्मार्ट लेखन बोर्ड, नेपाली तथा अङ्ग्रेजी वर्णमाला चार्ट, अङ्क तथा संख्या सम्बन्धी शैक्षिक सामग्री, पजल, डाइस, बल, खेलौना गाडी, डम्पर, फलफूल सेट, चिकित्सकीय खेल सामग्री लगायत उमेर अनुकूल विविध शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री व्यवस्थित रूपमा राखिएको छ ।
यस पहलले महिला प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सहज वातावरण प्रदान गर्नुका साथै कार्यालयमा आउने बालबालिकाका लागि सुरक्षित, स्नेहपूर्ण र बालमैत्री वातावरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

