विपद्, दुर्घटना एवं जलन सम्बन्धी एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल पर्यटन बोर्डको सभाहल, ड्यामसाइड पोखरामा विपद्, दुर्घटना एवं जलन सम्बन्धी एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराकी प्राविधिक प्रहरी निरीक्षक डा. शुसि श्रेष्ठले विपद् तथा दुर्घटनामा घाइते भएकाहरूको प्राथमिक उपचार र उद्धार व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास समेत प्रस्तुतीकरण गर्नुभएको थियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. पियुष गिरीले जलन भएका घाइतेहरूको प्राथमिक उपचार तथा उद्धार सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की तथा जिल्ला प्रहरी कार्यालय कास्की गरी जम्मा ८० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सी.ले विपद् दुर्घटना एंव जलन हुन पुर्व र भए पश्चात अपनाउने सावधानी सहित व्यवहारिक अभ्यासले आपत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

