आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा केन्द्रीय अनुसन्धान ब्यूरोको १६ औं वार्षिकोत्सव समारोह तथा CIB Magazine लोकार्पण कार्यक्रम सम्पन्न ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव समारोह सम्पन्न ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘CIB Magazine’ को लोकार्पण समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो ।

