लामो समयदेखि विवादमा रहेका निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा सहमतिमार्फत टुंगिएको छ। कानूनी प्रक्रियाबाट टाढा रही सहमतिमा पुगेपछि छवि ओझाले शिल्पालाई काठमाडौंको गौरीघाटस्थित करिब चार करोड रुपैयाँ मूल्यको घर सुम्पिएका छन्।
घर सुम्पिएसँगै शिल्पा र छविबीचको विवाद औपचारिक रूपमा अन्त्य भएको छ। शिल्पाले यो मुद्दा समाधानमा सहमतिका लागि सकारात्मक भूमिका खेलेको बताइएको छ। घर सुम्पिएपछि छवि ओझा हाल डेरामा बस्दै आएका छन्। व्यक्तिगत जीवनमा आएको उतारचढावपछि उनी पुनः आफ्नो व्यावसायिक क्षेत्रमा फर्किन लागेका छन्।
सिनेमामा पुनरागमन गर्ने संकेत दिँदै छवि ओझाले नयाँ चलचित्र ‘मंगलम २’ घोषणा गरेका छन्। चलचित्र क्षेत्रमा पुनः सक्रिय हुँदै उनले आफ्नो पुरानो छवि फर्काउन र दर्शकहरूको माया पुनः जित्न प्रयास गर्ने बताएका छन्।
छवि र शिल्पाबीचको विवादले केही समय चलचित्र क्षेत्रमा चर्चा पाएको थियो। तर, अहिलेको सहमतिले दुवै पक्षलाई नयाँ अध्याय सुरू गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

