काठमाण्डौ उपत्यकामा तिहार पर्व नजिकिएसँगै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। यसअनुसार उपत्यकाभित्र कुल ६,१०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
उपत्यका प्रहरी कार्यालयका अनुसार, चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, झगडा तथा अन्य अपराधिक गतिविधि नियन्त्रणमा लिन व्यापक चेकजाँच र निगरानी अभियान सञ्चालन गरिनेछ। यसका लागि दिवा र रात्रीकालिन गस्ती परिचालन बढाइनेछ भने Dog Sniffing सहित आकस्मिक जाँचलाई पनि वृद्धि गरिने भएको छ।
त्यस्तै, संवेदनशील क्षेत्रहरूमा प्रविधिको प्रयोग गरी निगरानी बढाइने छ। साथै, चाडपर्वको अवसरमा हुने जुवा र सट्टेबाजी नियन्त्रणका लागि विशेष टोली परिचालन गरिने जनाइएको छ।
उपत्यका प्रहरीका अनुसार, सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन नागरिकहरूको सहयोग आवश्यक छ। कुनै पनि शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी इकाइ वा हेल्पलाइनमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।


