उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म २ अर्ब ८६ करोड ४९ लाख १४ हजार ८०२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
भन्सार कार्यालयका अनुसार, पछिल्ला महिनाहरूमा चीनसँगको कोरला नाकाबाट विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स सामग्री, निर्माण तथा तयारी सामाग्रीहरू लगायतका वस्तुको आयात उल्लेखनीय रूपमा बढेको छ। आयातमा भएको यो वृद्धिसँगै राजस्व संकलन पनि अघिल्ला वर्षको तुलनामा धेरै गुणा बढेको कार्यालयले जनाएको छ।
कोरला–जोमसोम–बेनी हुँदै पोखरा जोड्ने मुख्य सडकखण्ड सुधारको अन्तिम तयारीमा रहेको छ। उक्त सडक स्तरोन्नति भएपछि व्यापारिक गतिविधि तीव्र हुने, ढुवानी खर्च घट्ने र मुस्ताङ हुँदै चीनसँगको व्यापार थप सशक्त हुने अपेक्षा गरिएको छ।
भन्सार कार्यालयका प्रमुखले बताएअनुसार, अहिले दैनिक रूपमा दर्जनौं ट्रक सामान भित्रिने गरेका छन्। उनले भने, “विद्युतीय सवारी साधन र इलेक्ट्रोनिक्सका वस्तुहरूको आयातमा उल्लेखनीय वृद्धि भएको छ। सडक र भौतिक पूर्वाधार सुधार हुँदै गए धौलागिरी क्षेत्र निकट भविष्यमा नेपालको प्रमुख व्यापारिक हब बन्नेमा कुनै शंका छैन।”
स्थानीय व्यापारीहरू पनि आशावादी छन्। उनीहरूका अनुसार, सडक सुचारु र सुरक्षित बनेपछि सामान आयात–निर्यात सजिलो हुने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने र स्थानीय अर्थतन्त्रमा व्यापक सुधार आउनेछ।
जोमसोमका एक व्यवसायीले भने, “पहिलेको तुलनामा अहिले चीनतर्फको व्यापार निकै खुला भएको छ। सडक राम्रो भएपछि यहाँका होटल, ट्रान्सपोर्ट, मजदुरी र साना व्यवसाय सबै फस्टाउनेछन्।”
भन्सार कार्यालयले यसअघि आर्थिक वर्षको सोही अवधिमा जम्मा एक अर्बभन्दा कम राजस्व संकलन गरेको थियो। यसपालि भने इलेक्ट्रिक गाडी र उच्च मूल्यका इलेक्ट्रोनिक्स सामानको आयातले राजस्व वृद्धिमा ठूलो योगदान पुर्याएको छ।
सडक सुधारको अन्तिम चरण पूरा भएसँगै कोरला नाकाबाट हुने व्यापारले देशकै समग्र आर्थिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मुस्ताङको भौगोलिक कठिनाइबीच पनि यति ठूलो राजस्व संकलन हुनु प्रदेश र संघीय सरकारका लागि उत्साहजनक उपलब्धि मानिएको छ।


