फरार प्रतिवादी पक्राउमा उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सुदिप ढुङ्गाना ‘बेस्ट पुलिस अफ द मन्थ घोषित
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक हवल्दार सुदिप ढुङ्गानालाई २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ (Best Police of the Month)’ घोषणा गरेको छ ।
प्रहरी सहायक हवल्दार ढुङ्गाना जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रबन्ध शाखाको दरबन्दीमा रही हाल इलाका प्रहरी कार्यालय पालुङमा कार्यरत छन्। उनले संगठनले दिएको जिम्मेवारीलाई उच्च व्यवसायिकता, अनुशासन र इमान्दारिताका साथ निर्वाह गर्दै फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय योगदान पुर्याएको भन्दै यो सम्मान प्रदान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ढुङ्गानाले २०८३ असार १० गते पर्सा जिल्ला अदालतबाट लागुऔषध (गाँजा) मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी भएका मकवानपुर थाहा नगरपालिका–३ निवासी अजय गोपालीलाई पक्राउ गर्न गोप्य सूचना संकलन तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैगरी विभिन्न मितिमा जिल्ला अदालत हेटौंडाबाट फैसला भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका राजु कार्की र सन्तोष कार्की लगायतका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
यस्तै, असार १८ गते जिल्ला अदालत मकवानपुरबाट चेक अनादर मुद्दामा फरार रहेका थाहा नगरपालिका–१ निवासी प्रकाश बलामीसहित विभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरूको खोजी, पक्राउ तथा कानुनी कारबाहीको प्रक्रियामा समेत उनको योगदान उल्लेखनीय रहेको प्रहरीको मूल्याङ्कन छ।
उनले फरार प्रतिवादी पक्राउ, गोप्य सूचना संकलन, अनुसन्धान तथा कानुन कार्यान्वयनमा देखाएको सक्रियता, कर्तव्यनिष्ठा र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९’ बमोजिम २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले ढुङ्गानालाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै समर्पित, व्यवसायिक र प्रभावकारी कार्यसम्पादनमार्फत संगठनको गरिमा अझ उँचो बनाउन शुभकामना व्यक्त गरेका छन्।

