प्रहरी सहायक निरीक्षक ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीका सन्ततिमध्ये एक जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शिक्षाआर्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रहरी सहायक निरीक्षक ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ।
२०५८ असार १ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका तथा हाल सेवामा कार्यरत र विभिन्न कारणले सेवा निवृत्त भएका प्रहरी सहायक निरीक्षकहरूको सामूहिक पहलमा ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको हो।
नेपाल प्रहरी स्मारक गुठी विधान, २०५१ बमोजिम सञ्चालन हुने उक्त अक्षयकोषको रकम समूहका अध्यक्ष प्रहरी निरीक्षक सुरेश कुमार हायुले ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो।
समूहको सामूहिक भावना, सेवाभाव र भ्रातृत्वलाई थप मजबुत बनाउँदै आर्थिक अवस्था कमजोर भएका प्रहरी कार्यालय सहयोगीका सन्ततिलाई शिक्षाको अवसर प्रदान गर्ने लक्ष्यसहित अक्षयकोष स्थापना गरिएको हो।

