प्रहरी दिवसमा रुपन्देहीका एसपी जनकबहादुर शाही ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख’ घोषित
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON)–२०८३ मा जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रथम स्थान हासिल गर्दै ‘पुलिस ब्याटन’ प्राप्त गर्न सफल भएको छ। उक्त उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख’ घोषित भएका छन्।
कार्यालय प्रमुखका रूपमा शाहीले प्रदर्शन गरेको व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको प्रभावकारी परिचालन, कार्यकुशलता तथा समग्र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
रुपन्देही जिल्ला प्रहरी कार्यालयले हासिल गरेको उत्कृष्ट उपलब्धि र त्यसमा एसपी शाहीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले प्रहरी संगठनभित्र व्यावसायिकता, जवाफदेहिता र प्रभावकारी कार्यसम्पादनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

