भ्याली एआइजी सुशील राठौरद्वारा हिजोको बानेश्वर घटनामा उत्कृष्ट कार्य गर्ने तिन जना प्रहरीलाई पुरस्कार प्रदान
#ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवकलाई कानुनी दायरामा ल्याउने तीन प्रहरी पुरस्कृत
ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि गालीगलौज तथा हातपात गर्ने युवकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सफल तीन प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
भदौ ९ गते बिहान करिब ९ः३० बजे काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि ड्युटीमा खटिएका प्रहरी कर्मचारीले सर्वसाधारणलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइरहेका थिए।
सोही क्रममा प्रहरीको आग्रह अटेर गर्दै ड्युटीमा खटिएका प्रहरीमाथि गालीगलौज तथा हातपात गर्ने जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार कठायतलाई नियन्त्रणमा लिई कानुनी प्रक्रियामा ल्याउन उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी सहायक हवल्दार भरत कुमार राना, प्रहरी सहायक हवल्दार मधु कुमार यादव र प्रहरी जवान अबिना स्याबा परियारलाई नगद पुरस्कार प्रदान गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा आज उनीहरूलाई पुरस्कृत गरिएको हो।
उत्कृष्ट कार्य गर्ने, प्रहरी पेशाप्रति निष्ठावान, इमानदार तथा अनुशासित प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दा अन्य प्रहरी कर्मचारीको समेत मनोबल बढ्ने र प्रहरी कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास प्रहरीको छ।

