डिआईजी विनोद घिमिरेद्वारा सिटी सफारीका चालकहरुलाई QR CODE सहितको सुरक्षित चालक पोशाक वितरण
“सुरक्षित चालक अभियान” अन्तरगत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले ई–रिक्सा (सिटी सफारी) व्यवस्थापनलाई प्रभावकारी बनाउन सिटी सफारीका चालकहरुलाई QR CODE सहितको ‘सुरक्षित चालक पोशाक वितरण गरेको छ ।
सुनसरी उपमहानगरपालिका स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कार्याक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरीले सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारीका चालकहरुलाई QR CODE सहितको सुरक्षित चालक पोशाक वितरण गर्नु भएको हो ।
कार्याक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व झन् बढ्दै गएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गर्नुभयो । उहाँले सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको बताउँदै जिम्मेवार र अनुशासित तवरले सवारी साधन सञ्चालन गरी यात्रुहरुलाई सुरक्षित साथ गन्तव्य सम्म पुराउन सिटी सफारीका चालकहरुलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले सुरक्षित चालक पोशाकको औचित्य सहितको मन्तव्य राख्नु भएको थियो भने नेपाल यातायात महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका राम खेलौन चौधरी, पत्रकार महासंघ सुनसरी जिल्लाका अध्यक्ष संतोष काफ्ले, इटहरी उप महानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष दिवस पोख्रेल, ई रिक्सा छाता संगठन इटहरीका अध्यक्ष कुमार तामाङले सुरक्षित चालक पोशाकको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयालले सुरक्षित यात्राको लागी चालक पोशाक अनिवार्य रहेको, यस अभियानले चालकहरुमा सचेतना अभिबृद्धि गरी सुरक्षित यात्राको सुनिश्चित हुने बताउदै धन्यवाद सहितको समापन मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीका प्रहरी उपरीक्षकहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरु, यातायात व्यवस्था कार्यालय इटहरी (सवारी) प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, लेडिज जेसीज इहटरी, संचारकर्मी, स्थानियबासी, ई रिक्सा संघका प्रतिनिधि तथा ई रिक्सा चालकहरुको उपस्थिति रहेको थियो । Dipak Giri
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


