प्रहरीका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू गाडीमा भाग्न खोजेपछि गोली चलाइएको हो ।
केही दिनअघि मात्र लागूऔषध नियन्त्रण ब्युरोको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबास चन्द्र बोहोरा लागू औषध नियन्त्रण विरुद्ध कडा रूपमा उत्रिएका छन्।
शुक्रबार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
ललितपुर महानगरपालिका–२३ गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक तथा सवार व्यक्तिहरूले अटेर गरी भाग्न खोजेको बोहराको दाबी छ ।
प्रहरीले कार र मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ । साथै घटनास्थलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य, सीतामढी जिल्लाका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय मोहम्मद सद्दाम रहेका छन् ।
घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोलसहित कार, मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबास चन्द्र बोहोराले लागूऔषध तस्करी नियन्त्रणका लागि ब्युरोले सूचना सङ्कलन, निगरानी र अपरेशनलाई थप प्रभावकारी बनाएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने बताए।

