एसपी सुमित खड्काको टिमले गरेको कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार तेस्रो पटक प्रथम हुन सफल
देशभरका प्रहरी उपरीक्षकको नेतृत्वमा रहेका १५ वटा पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये नेपाल प्रहरी प्रधान कार्यालयले गरेको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङले सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गरेको हो। अहिले धादिङ जिल्लाको कमाण्ड एसपी सुमित खड्काले गरेका छन्।
प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको हो । त्यसैगरी राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण अभियान, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन, शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनका क्षेत्रमा पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्याङ्कनमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय धादिङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै अपराध न्यूनीकरणमा सक्रिय भूमिका खेल्दै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन प्रणालीले संगठनभित्र स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यावसायिक बनाउन सहयोग पुगेको उनले बताए । ‘यस्ता मूल्याङ्कनले प्रहरी कर्मचारीमा जिम्मेवारीबोध र कार्यदक्षता अभिवृद्धि गर्दै नागरिकको सुरक्षा र सेवा प्रवाहलाई थप सुदृढ बनाउन प्रेरणा दिएको छ’ उनले भने ।

