डलर देखाएर ठगी गर्ने गिरोहलाई प्रहरी वृत्त बौद्धको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ
पक्राउ पर्नेहरुमा धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार तामाङ र बिजय तामाङ छन् । उनीहरू चारैजना सिन्धुपाल्चोक बाह्रबिसेका स्थायीबासी हुन् । उनीहरूले साउन ८ गते बुढानीलकण्ठस्थित प्रगतिचोकमा एक व्यक्तिलाई डलरदेखाइ ठगी गरेको उजुरी आएपछि खोजी गर्दा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकाहरुमध्ये धनबहादुर तामाङ यसअघि पनि डलर देखाएर लुटपाट तथा ठगी गरेको आरोपमा ६ पटक पक्राउ परेको खुलेको छ । उनी डलर देखाएर लुटपाट गर्ने गिरोहका नाइके भएको प्रहरीले जनाएको छ ।
अर्का आरोपी लोकबहादुर तामाङ चारपटक पक्राउ परेको खुलेको हो । उनीहरूको साथबाट प्रहरीले सुनको औँठी, सुनको ब्रास्लेट, सुनको तिलहरी, ५० डलर र ३ लाख ८४ हजार ६०० रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि ठगी तथा लुटपाट कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

