डिआईजी शेखर खनालद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा व्यावसायिक प्रहरी उत्पादनमा जोड
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको निरीक्षण अनुगमनको क्रममा संगठनको आवश्यकता अनुरूप दक्ष, अनुशासित, सेवामुखी र व्यावसायिक प्रहरी जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिन निर्देशन दिनु भएको छ ।
निरीक्षणका क्रममा डिआईजी खनालले कार्यालय भवन, विभिन्न शाखा, मेस, चमेनागृह, पुस्तकालय, ब्यारेक तथा आन्तरिक एवं बाह्य प्रशिक्षण स्थलको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ ।
निर्देशनका क्रममा उहाँले तालिम केन्द्र प्रहरी संगठनको आधारशिला भएकाले प्रशिक्षकहरूले अनुकरणीय भूमिका निर्वाह गर्दै नवप्रवेशी प्रहरीहरुलाई व्यावहारिक, अनुशासित र सेवामुखी बनाउन विशेष ध्यान दिनुपर्ने र प्रशिक्षार्थी प्रहरीहरूले पनि संगठनको मर्म, मूल्य–मान्यता र प्रशिक्षकबाट प्राप्त ज्ञान तथा सीपलाई सकारात्मक सोचका साथ ग्रहण गरी दक्ष र सक्षम प्रहरी भई नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनु भएको छ ।

