साउन महिनाको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल १ नम्बर बन्न सफल
एसपी चक्रराज जोशीको कमाण्डमा रहेको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलले साउन महिनाको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट स्थान हासिल गरेकोमा हार्दिक बधाई ! कार्यदलले आफ्नो जिम्मेवारीलाई उच्च मनोबल, अनुशासन र व्यावसायिकताका साथ पूरा गर्दै आएको छ ।
देशभरका गण प्रकृतिका २० वटा कार्यालयमध्ये साउन महिनाको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपन १ नम्बर कार्यालय बन्न सफल भएको छ। सुरक्षा कार्यसम्पादनसँगै कार्यालय व्यवस्थापन, अनुशासन, वातावरण संरक्षण तथा परिसरको सौन्दर्यीकरणमा समेत ध्यान दिइएका कारण कार्यदलले उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।
कार्यदलका प्रमुख एसपी चक्रराज जोशी र डीएसपी उद्धव भाटको सक्रियतामा उक्त कार्यालयको परिसर सुधार तथा वातावरण संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो। नेतृत्वको योजनाबद्ध पहल र प्रहरी कर्मचारीको सक्रिय सहभागिताका कारण छोटो समयमै कार्यदल परिसरको स्वरूपमा उल्लेख्य परिवर्तन आएको देखिन्छ।
वृक्षरोपण अभियानअन्तर्गत विभिन्न प्रजातिका फूल, फलफूल तथा छायादार बिरुवा रोपिएका छन्। परिसरका खाली तथा उपयोगविहीन देखिने स्थानलाई समेत हरियाली क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले बिरुवा रोप्ने, संरक्षण गर्ने र नियमित रूपमा स्याहारसम्भार गर्ने काम भइरहेको छ।
एसपी जोशी र डीएसपी भाटको नेतृत्वमा अघि बढाइएको यो अभियानले प्रहरी संगठनभित्र ‘सुरक्षासँगै वातावरण संरक्षण’को अवधारणालाई समेत व्यवहारमा उतारेको देखिन्छ। प्रहरीको मुख्य जिम्मेवारी शान्ति–सुरक्षा कायम गर्नु भए पनि कार्यालय परिसरलाई स्वच्छ, हरियाली र वातावरणमैत्री बनाउने कामले प्रहरी संगठनको सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गर्ने अधिकारीहरूको बुझाइ छ।
कार्यदल परिसरमा देखिएको परिवर्तनले प्रहरी कर्मचारीमा समेत सकारात्मक ऊर्जा र अपनत्वको भावना बढाएको बताइएको छ। दैनिक काम गर्ने वातावरण सफा, हरियाली र व्यवस्थित हुँदा कर्मचारीको मनोबल तथा कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा समेत कार्यदलले अघि बढाएको वृक्षरोपण र सौन्दर्यीकरण अभियानलाई सकारात्मक रूपमा हेरिएको छ। सुरक्षा निकायको कार्यालयले आफ्नो परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने प्रयास गर्दा समुदायमा पनि वातावरण संरक्षणप्रति सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।
सुरक्षा क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइएको कपन कार्यदलको गतिविधिले प्रहरी कार्यालयको परम्परागत छविभन्दा फरक सकारात्मक पहिचान निर्माण गर्न थालेको छ। हजारौँ बिरुवाले हरियाली थप्दै जाँदा कार्यदल परिसरको सौन्दर्य मात्र बढेको छैन, प्रहरी संगठनभित्र वातावरणमैत्री कार्यालय निर्माणको एउटा उदाहरणसमेत स्थापित हुँदै गएको छ ।

