डिआईजी सानुराम भट्टराईद्वारा सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको निरीक्षण तथा ट्राफिक कर्मचारीहरूलाई निर्देशन
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले कार्यालयका विभिन्न शाखा, शाखागत अभिलेख तथा कार्यालय भवनको निरीक्षण गर्नुका साथै कार्यालयबाट सम्पादित कार्यहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो।
सो क्रममा उहाँले ट्राफिक प्रहरीको कार्यसम्पादनलाई नागरिकमैत्री, प्रविधिमैत्री तथा सेवामुखी बनाउँदै ट्राफिक नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। साथै, नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखी सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग तथा प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न जोड दिनुभयो।
सडकमा ट्राफिक प्रहरीको उपस्थिति जनताको सुरक्षाका निम्ति हो भन्ने मूल मर्मलाई आत्मसात् गर्दै जिम्मेवारीप्रति संवेदनशील र उत्तरदायी भएर कार्य गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उहाँले निर्देशनसमेत दिनुभएको थियो।

