अनारमनी प्रहरीले फेला पारेका १६ मोबाइल सम्बन्धित धनीलाई बुझायो, अनलाइन ठगीको १३ लाखभन्दा बढी रकम फिर्ता
इलाका प्रहरी कार्यालय अनारमनी, झापाले हराएका तथा चोरी भएका १६ थान मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
कार्यालयमा विभिन्न मिति, समय र स्थानबाट मोबाइल फोन हराएको तथा चोरी भएको भन्दै प्राप्त निवेदनमाथि खोजतलास र प्राविधिक विश्लेषण गरी मोबाइल फोनहरू फेला पारिएको हो। मिति २०८३ असोज २९ गते Redmi का ५, Samsung का ३, VIVO का ३, Realme का २, Tecno का २ र OnePlus को १ गरी जम्मा १६ थान मोबाइल सम्बन्धित निवेदकलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, चालु आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगीमा परेका १७ जना निवेदकको कुल रु. १३ लाख ११ हजार ६०० ठगी भएको रकम सम्बन्धित व्यक्तिहरूको बैंक खातामा फिर्ता गराइएको कार्यालयले जानकारी दिएको छ।
प्रहरीको यस कार्यले हराएका मोबाइल फेला पार्न तथा अनलाइन ठगीमा परेका पीडितलाई राहत दिलाउन महत्त्वपूर्ण योगदान पुगेको छ।

