एसएसपी नवराज अधिकारी ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कार’ बाट सम्मानित
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कार’ बाट सम्मानित भएका छन्।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित प्रहरी दिवस समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अधिकारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखका रूपमा कार्यरत रहँदा ट्राफिक प्रहरीको कार्यसञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा प्रहरी कार्यालयहरूको पुनर्निर्माण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।
सम्मानपत्रमा अधिकारीले कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्दा प्रदर्शन गरेको व्यवस्थापकीय क्षमता, उपलब्ध स्रोतसाधनको उचित परिचालन तथा कार्यालयहरूको पुनर्निर्माण र व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ।

