बुढेसकालमाआमा-बाबुकोबेवास्ता:समाजकोबदलिँदो अवस्था
नेपालमा पछिल्लो समय एक गम्भीर समस्या देखा परेको छ, जसमा विवाह पछि छोराबुहारीहरूले आफ्ना आमा-बाबु लाई बेवास्ता गर्न थालेका छन्। बुढेसकालमा पुगेका आमा-बाबु जसले आफ्नो सम्पूर्ण जीवन सन्तानको भविष्य बनाउन र उनीहरूको सुख-दुःखमा साथ दिन बिताएका हुन्छन, आज ती आमा-बाबु एक्लो र परेको महसुस गर्दैछन्। यस्तो व्यवहारले मात्र आमा-बाबुको मन मात्र दुखाउँदैन, तर यसले हाम्रो समाजको संस्कार र मानवीय मूल्यलाई पनि संकटमा पारिरहेको छ।
आजकलको परिवेशमा छोराबुहारीहरू प्रायः यसो भन्दैछन्, “बुढाबुढीलाई किन सुन लगाउनु पर्छ र? पहिले देखि नै कपडा टन्नै छन्, तिनीहरूलाई नयाँ किन किनिदिनु पर्यो?” यस्ता शब्दहरूले बुढेसकालमा पुगेका आमा-बाबुको मन कति दुखाउँछन् भन्ने कुरा छोराबुहारीलाई थाहा हुँदैन। जब उनीहरूको शरीर कमजोर र मन संवेदनशील हुन्छ, यस्ता व्यवहारहरूले उनीहरूलाई निराश र अपमानित बनाउँछन्। बुढेसकालमा मानिसका केही आवश्यकता र चाहनाहरू हुनु स्वाभाविक हो। जीवनभर आफ्ना सन्तानका लागि कडा मेहनत गरेर उनीहरूलाई सक्षम बनाउने आमा-बाबुले आज बुढेसकालमा सानो स्नेह र सम्मानको अपेक्षा गर्छन्, तर धेरै छोराबुहारीहरूले आफ्नो श्रीमतीलाई प्राथमिकता दिन र बाबु-आमालाई अनदेखा गर्न थालिसकेका छन्।
सामाजिक र सांस्कृतिक परिवर्तनले छोराबुहारीलाई यस्ता सोचमा परिवर्तन गरेको हो। केही परिवारमा छोराले श्रीमतीका लागि नयाँ कपडा, गरगहना र अन्य सुविधा दिने गर्छन्, तर बाबु-आमाका साधारण आवश्यकताहरू पूरा गर्न हिचकिचाउँछन्। खासमा, ती आमा-बाबुले कहिल्यै यस्तो व्यवहारको कल्पना गरेका थिएनन्, जुन अहिले उनीहरूले भोगिरहेका छन्। यदि छोराबुहारीहरूले आमा-बाबुसँग सानो खुशी बाँड्न सके भने, उनीहरूको मन कति खुसी हुन्थ्यो होला! केवल खाना पकाउँदा जे पाक्छ, त्यसलाई सँगै खुवाउन सके भने परिवारभित्र अझ बढी आत्मीयता र स्नेहको भावना वृद्धि हुन सक्छ।
आजको समाजमा कतिपय परिवारहरूमा बुढा-बुढीलाई छुट्टै बस्न र खाना पकाउन बाध्य बनाइन्छ। यस्ता परिपाटीहरूले परिवारको वातावरणलाई नकारात्मक बनाउँछन्। त्यसमाथि, हाम्रो बाल्यकालको सम्झना गरौं, हामीले आमा-बाबुसँग जे-जिद्दी गरे पनि उनीहरू हाम्रो खुशीका जे गर्न पनि तयार हुने थिए। अब उनीहरू वृद्ध भइसकेपछि हामीले तिनीहरूको खुशीका लागि के कस्तो प्रयास गर्न सकिरहेका छौं, त्यसमा हामीले गहिरो सोच्नु पर्छ। हाम्रो संस्कार र मानवता के फेरिएको छ, यसमा ध्यान दिन जरुरी छ।
आजकलका धेरै सन्तान आफ्ना आमा-बाबुको हेरचाह गर्न भन्दा मोबाइल र फेसबुकमा समय बिताउन रुचाउँछन्। ती आमा-बाबु जसले सम्पूर्ण जीवन आफ्ना सन्तानको भविष्य बनाउनेमा खर्च गरे, आज तिनीहरूलाई आफ्ना छोराबुहारीसँग साधारण कुरा गर्न समय पाउदैनन भने, यसले केवल उनीहरूको मानसिक स्थितिमा मात्र प्रभाव पार्दैन, तर यसले समाजमा असन्तुलन र समस्या पनि जन्माउँछ।
बिहे पछि, धेरै सन्तानहरूले आफ्ना मोबाइलको स्क्रिन र फेसबुकको भित्तामा आफ्नी श्रीमतीको फोटो राख्छन्, तर बाबु-आमाको फोटो भने कहीँ राख्ने गरेका पनि हुदैनन। घरको भित्तामा पनि अधिकांश स्थानमा श्रीमतिका र आफ्नो मात्र फोटोहरू हुन्छन्, जबकि आमा-बाबुको फोटो नसमेटिएको हुन्छ। यसले आफ्ना बाबु- आमालाई अपमान र बेवास्ता गरेको महसुस गराउँछ। आमा-बाबुले जीवनभर आफ्नो सन्तानलाई पालेर, उनका लागि कति कष्ट सहेर, उनीहरूको भविष्यको लागि कति प्रयास गरे, त्यो बिर्सिएको जस्तो लाग्छ। यदि हामी उनीहरूको इज्जत र सम्मान गर्ने आधारभूत काम पनि नगर्ने हो भने, भविष्यमा हामीले आफूसँग पनि यस्तै व्यवहारको सामना गर्न सक्छौं।
समाजमा केही बुहारीहरूले सासु-ससुराको अत्याचार र दमन सहनु परेको घटनाहरू पनि कम छैनन्। सासु-ससुरासँगको सम्बन्धमा असन्तुलनले परिवारमा संघर्ष र चिडचिड पैदा गर्दछ। तर यदि हामी सबै एक आपसमा स्नेह र सम्मानका साथ व्यवहार गर्यौं भने यस प्रवृत्तिमा परिवर्तन ल्याउन सकिन्छ।
हामीले बुझ्नुपर्छ कि वृद्धावस्थामा पुगेका आमा-बाबुका मन र शरीर निकै कमजोर भएका छन्। उनीहरूले जीवनभर मिहिनेत गरेर हामीलाई ठूलो बनाएका छन्, त्यसैले उनीहरूको मन दुखाउने कुनै पनि कार्य गर्न गलत हुन्छ।
केही व्यक्तिहरू भने आफ्ना आमा-बाबुका सम्पत्तिमा बसेर बाबु-आमालाई बृद्धाश्रममा पुर्याइदिन्छन्, कि त बुढेसकालमामा छुटै पकाएर खान बाध्य बनाईदिन्छन । जहाँ उनीहरूको ध्यान र हेरचाह गर्ने कोही पनि हुँदैन। यस्तो प्रवृत्तिले समाजमा मात्रै होइन, कानूनी र नैतिक दृष्टिले पनि गम्भीर प्रश्न खडा गर्दछ।
यसको समाधानका लागि सम्बन्धित निकायलाई ध्यान दिन जरुरी छ। सबैभन्दा पहिले, हामी सबैको सोचमा सुधार ल्याउनु आवश्यक छ। हामीलाई बुझ्न जरुरी छ कि जसरी हामी आफ्ना आमा-बाबुबाट स्नेह र माया पाउँछौं, त्यसरी नै उनीहरूको जीवनमा पनि स्नेह र सम्मान हुनु आवश्यक छ। यदि हामी केवल एकपटक सोच्ने हो भने, के हामी आफूलाई वृद्ध अवस्था पुग्दा यस्तो व्यवहारको सामना गर्न चाहन्छौं ?सोचौ उनीहरूको सुख, शान्ति र सम्मानका लागि हामीले के गर्न सक्छौ ?
रुढिबादी परम्पराबाट गुज्रिएका हाम्रा आमा-बाबुले आधुनिकता र नयाँ सोचलाई बुझ्न सक्ने अवस्था छैन। हामीले उनीहरूलाई बुझ्ने र आफ्नो जिम्मेवारी पुरा गर्ने प्रयास गर्नुपर्छ। यदि हामीले यसलाई गम्भीरताका साथ विचार गर्न सके, हाम्रो समाजमा एक नयाँ परिवर्तन ल्याउन सकिन्छ।
तिनीहरूलाई खुसी बनाउनका लागि हामीले साना प्रयास र स्नेह पुर्याउनु आवश्यक छ, जुन हाम्रो धर्म र कर्तव्य हो। यस्ता कुराबाट बाहिर निस्कने हो भने, हाम्रो समाज अशिक्षित र अराजक हुन्छ, र हाम्रो भविष्यमा हाम्रा बच्चाहरूले हामीले के गरेौं, त्यही सिक्नेछन्। यसले समाजमा गम्भीर असर पार्छ र हाम्रा संस्कार र परम्परामा ठूलो क्षति पुर्याउँछ।
यदि हामी सबै एक आपसमा स्नेह र सम्मानका साथ व्यवहार गर्यौं भने हामी हाम्रो समाजलाई अझ बलियो र स्वस्थ बनाउन सक्छौं। आमा-बाबुको मन नदुखाउने र उनीहरूको खुशीको ख्याल राख्नु हाम्रो जिम्मेवारी हो। यसरी, हामी आफ्नो परिवारलाई सुखी र सान्त बनाउन सक्छौं।
हामीले जसरी सानो उमेरमा आमा-बाबुले हामीलाई पाले र हेरचाह गरे, अब हामी वृद्ध अवस्थामा पुगेका ती महान व्यक्तिहरूको हेरचाह गर्ने जिम्मेवारी हाम्रो हो। यिनै आमा-बाबु हुन् जसले हाम्रा जीवनलाई सक्षम बनाएका छन्, अब हाम्रो पालो आएको छ उनीहरूको हेरचाह गर्नको लागि। यो कुरा कहिले बिर्सनु हुन्न।
हाम्रो समाजको समृद्धि र प्रगति भनेको यही हो कि हामी अरूसँग सहानुभूति राख्ने, आफ्ना सन्तानलाई उच्च शिक्षित र संस्कारी बनाउने, र बुढेसकालमा हाम्रो आमा-बाबुको मन र शरीरलाई सम्मान गर्ने कार्यमा अग्रसर हुने हो। यसले हाम्रो समाजलाई अझ बलियो र सभ्य बनाउँछ।

