एसएसपी विनोद घिमिरेले सम्हाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी
काठमाडौं — एसएसपी विनोद घिमिरेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा आजदेखि जिम्मेवारी सम्हाल्नुभएको छ।
पदभार ग्रहण समारोहमा कार्यालयका एसपी संजय बहादुर राउतले ट्राफिक व्यवस्थापन र प्रहरीको गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले ट्राफिक व्यवस्था सुधारका लागि विगतमा भएका प्रयासहरूलाई थप सुदृढ बनाउँदै जानुपर्नेमा जोड दिनुभयो।

एसएसपी घिमिरेले पदभार ग्रहण गर्दै सडक सुरक्षाको प्रभावकारी व्यवस्थापन र ट्राफिक सेवाको स्तरोन्नतिका लागि कार्यालयलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, ट्राफिक प्रहरीलाई नागरिक मैत्री र त्रुटीरहित सेवा दिन निर्देशन दिनुभएको छ।
उहाँले ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई समाधान गर्न सहकार्य र समन्वयमा जोड दिँदै सडक प्रयोगकर्ताहरूको सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ।


