काठमाडौं, समानुपातिक उम्मेद्वारका रूपमा आकांक्षी बनेका मुस्ताङका सुदेश गुरुङले युवामैत्री नीति, रोजगारी सिर्जना र मुस्ताङको दिगो पर्यटन विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले शिक्षा, सीप विकास, स्टार्टअप र डिजिटल अवसरलाई केन्द्रमा राखेर युवाको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।
गुरुङका अनुसार अबको राजनीति केवल व्यक्तिको होइन, नीति, प्रणाली र भविष्यको हुनुपर्छ। “Gen Z पुस्ताका आवश्यकता बुझ्ने, उनीहरूलाई रोजगारी, उद्यम र अवसरसँग जोड्ने नीति आजको आवश्यकता हो,” उनले भने।
मुस्ताङको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा विश्वमै विशिष्ट रहेकाले त्यसलाई संरक्षणसहित दिगो पर्यटनसँग जोड्नुपर्ने गुरुङको धारणा छ। उनका अनुसार पर्यटन विकास स्थानीय युवाको रोजगारी, उद्यमशीलता र आय आर्जनसँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ।
“मुस्ताङको पर्यटन बाहिरबाट आउने सीमित व्यक्तिको फाइदामा होइन, स्थानीय युवाको आम्दानी र व्यवसायको आधार बन्नुपर्छ,” उनले स्पष्ट पारे।
हिमाली क्षेत्रमा हुने विकास वातावरणमैत्री र सांस्कृतिक मर्यादासहित हुनुपर्नेमा जोड दिँदै गुरुङले प्रकृति, संस्कृति र विकासबीच सन्तुलन कायम नगरे भविष्य जोखिममा पर्ने चेतावनी दिएका छन्।
उनले पारदर्शी शासन, भ्रष्टाचारविरुद्ध कडा उभिने र जवाफदेही राजनीतिक संस्कार निर्माण आफ्नो अर्को मुख्य एजेन्डा रहेको बताए। साथै, प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा प्रणाली निर्माण गरेर नागरिकलाई सहज सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे।
सुदेश गुरुङले मुस्ताङको पर्यटनलाई युवाको स्टार्टअप, डिजिटल काम, स्थानीय उत्पादन र उद्यमसँग जोडेर दीर्घकालीन आर्थिक आधार निर्माण गर्ने योजना अघि सारेका छन्।
“प्रकृति, संस्कृति र भविष्यलाई सँगसँगै जोगाउँदै मुस्ताङलाई युवाको अवसरको केन्द्र बनाउने मेरो लक्ष्य हो,” उनले भने।
युवा पुस्ताको प्रतिनिधित्व, स्पष्ट दृष्टिकोण र स्थानीय केन्द्रित विकास सोचका कारण सुदेश गुरुङको उम्मेदवारीले मुस्ताङमा नयाँ बहस र अपेक्षा सिर्जना गरेको छ।


