एकै परिवारका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक : अवकाश हुँदा भव्य विदाई
नेपालगन्ज जमुनाहका सुरेन्द्र सिंह सशस्त्र प्रहरी बलको सई पदबाट अवकाश प्राप्त गर्दा उहाँको भव्य बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा परिवार तथा आफन्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
सिंह परिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सम्बन्ध निकै गौरवपूर्ण मानिन्छ। नेपाल–भारत सीमावर्ती जमुनाह गाउँको शिख समुदायमा बसोबास गर्ने यस परिवारका करिब एक दर्जन सदस्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा आबद्ध रहेको बताइन्छ।
सुरेन्द्र सिंहका बुवा जबरसिंह नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो भने छोरा अंकित हाल नेपाल प्रहरीमा सेवामा छन्। काकाका छोरा कन्हैया सिंह प्रहरी निरीक्षक रहँदा द्वन्द्वकालमा सहिद भएका थिए। काका शरण सिंहले पनि नेपाल प्रहरीमा सेवा गर्नुभएको थियो।
त्यस्तै परिवारकै विनोद, दीपक, बलदेव र नारायण सशस्त्र प्रहरीमा कार्यरत छन् भने नातेदार शंकर सिंह सशस्त्र प्रहरीका डीएसपी पदबाट अवकाश प्राप्त गरिसक्नुभएको छ।
“हाम्रो त घर नै ब्यारेकजस्तै छ,” सुरेन्द्र सिंह हाँस्दै भन्नुहुन्छ, “लगभग दर्जन नै पुग्ने रहेछन्।”
देशको सेवा गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै उहाँले अवकाशपछि पनि सामाजिक कार्यमार्फत देशसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


