नेपाल प्रहरी श्रीमती सङ्घको संयोजन तथा आसरा सुधार केन्द्रको सहकार्यमा आज नेपाल पुलिस स्कुल, सामाखुसीका विद्यार्थीहरूलाई लक्षित गरी लागु औषधविरुद्ध सचेतना तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण प्रसाद काफ्लेज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै किशोरावस्थामा सही मार्गदर्शन, आत्मअनुशासन र सकारात्मक सोचको महत्त्वमाथि प्रकाश पार्नुभयो। आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीले लागु औषध दुव्र्यसनका कारण, असर, बच्ने उपाय तथा स्वस्थ र उद्देश्यपूर्ण जीवन निर्माणका विषयमा प्रेरणादायी विचार प्रस्तुत गर्नुभयो। साथै आसरा सुधार केन्द्रका अनुभवी परामर्शदाताहरूले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन, तनाव व्यवस्थापन तथा दुर्व्यसन नियन्त्रणसम्बन्धी विविध पक्षमा विस्तृत प्रशिक्षण तथा सचेतना प्रदान गर्नुभयो ।


कार्यक्रमले विद्यार्थीहरूमा आत्मचेतना, आत्मविश्वास र जिम्मेवार जीवनशैलीको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। समापनका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गर्दै यस्ता समयसापेक्ष र जीवनोपयोगी कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


