एसपी रबिन कार्कीको प्रमुख आतिथ्यमा (Basic Life Support – BLS) तालिम सम्पन्न
प्रहरी कर्मचारीहरूको आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सभाहलमा प्रहरी कर्मचारीहरूका लागि आधारभूत जीवन रक्षा (Basic Life Support–BLS) तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त तालिम शीर मेमोरियल अस्पताल, बनेपा को आयोजनामा सञ्चालन गरिएको हो । तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तालिमका क्रममा प्रशिक्षकहरूले आकस्मिक स्वास्थ्य अवस्थाहरूमा अपनाउनुपर्ने प्रारम्भिक उपचार, बिरामीको अवस्था मूल्याङ्कन, Cardiopulmonary Resuscitation (CPR), श्वासप्रश्वास अवरुद्ध भएका व्यक्तिको उद्धार, Automated External Defibrillator (AED) को प्रयोग तथा अस्पताल पुर्याउनुअघि गरिने जीवनरक्षक उपायहरूबारे सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई दुर्घटना, विपद्, प्राकृतिक प्रकोप तथा अन्य आकस्मिक घटनास्थलमा घाइते तथा बिरामी व्यक्तिहरूको जीवन रक्षा गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले शीर मेमोरियल अस्पताल, बनेपालाई गुणस्तरीय तथा व्यावहारिक तालिम सञ्चालन गरी प्रहरी कर्मचारीहरूको क्षमता विकासमा पुर्याएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै भविष्यमा समेत यस्ता सहकार्यलाई निरन्तरता दिँदै प्रहरी सेवाको व्यावसायिक दक्षता तथा नागरिकको जीवन रक्षा क्षमतालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

