आईजीपी दान कार्कीले विपद्को कठिन परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा खटिएका उच्च मनोबलका साथ काम गर्न निर्देशन
फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको हौसला बढाउन आईजीपी दान कार्की आफै स्थलगत अनुगमनमा
विपद्को कठिन परिस्थितिमा राष्ट्र र नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै आईजीपी कार्कीले आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम प्रयोग गरी उद्धार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरे।
आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार, हिंसा तथा अन्य आपराधिक गतिविधिप्रति प्रहरी थप संवेदनशील र सतर्क हुनुपर्ने बताए।
विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिँदै उनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आग्रह गरे।
राहत वितरणमा कुनै किसिमको अनियमितता हुन नदिन स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउनसमेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
आईजीपी कार्कीले विपद् व्यवस्थापनमा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।
अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता थियो।

