डिआईजी खनालको उपस्थितिमा ७१औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा १३६ जनाद्वारा रक्तदान
“७१औँ प्रहरी दिवस–२०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मोरङको विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
असोज २७ गते नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थी गरी १३६ जनाले रक्तदान गरेका थिए।
यसैगरी, ७१औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटाद्वारा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी गरी थप ७० जनाले रक्तदान गरेका थिए।
प्रहरी दिवसको अवसरमा आयोजित यस्ता सामाजिक सेवामूलक कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा रगतको सहज उपलब्धतामा सहयोग पुर्याउने विश्वास लिइएको छ।

