डिआईजी सानुराम भट्टराईद्वारा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण सम्पन्न
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी सानुराम भट्टराईले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो । सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरू, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले नागरिकमैत्री, प्रभावकारी तथा गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो । साथै, आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न र आफ्नो कार्यक्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिनुभयो ।
उक्त निरीक्षणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महरा अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

