एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा एनपिएस सामाखुसी चेस च्याम्पियनसिप सम्पन्न
नेपाल पुलिस स्कुल, सामाखुसीको आयोजनामा सञ्चालित उपत्यकाव्यापी तेस्रो एनपिएस सामाखुसी चेस च्याम्पियनसिप २०८३ को पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विजेता खेलाडी तथा विद्यालयलाई बधाई दिँदै सहभागी सबै खेलाडीलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
भदौ २० र २१ गते सञ्चालित प्रतियोगितामा काठमाडौं उपत्यका तथा आसपासका १०४ विद्यालयका २३८ खेलाडी सहभागी थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियालगायत प्रहरी अधिकारी, विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा चेस एकेडेमीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

