प्रहरीलाई नै मोटरसाइकलले घेरेपछि सुरु भयो ‘अपरेसन ३६५’, एक वर्षमा ८९८ कारबाही
रातिको समयमा चर्को आवाज निकाल्दै मोटरसाइकल पड्काएर हिँड्ने समूहले ड्युटीमा खटिएका प्रहरी अधिकृतलाई नै घेराबन्दी गरेपछि पोखरामा सुरु गरिएको ‘अपरेसन ३६५’ अभियानले एक वर्ष पूरा गरेको छ। ध्वनि प्रदूषण, अनावश्यक होहल्ला र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत एक वर्षमा ८९८ वटा मोटरसाइकलमाथि कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार अभियान सुरु हुनुको प्रमुख कारणमध्ये रातिको समयमा मोटरसाइकल पड्काउँदै हिँड्ने समूहले प्रहरी अधिकृतलाई नै घेराबन्दी गरेको घटना हो। तत्कालीन वैदाम प्रहरी वृत्तका डीएसपी नमराज भट्टराई ड्युटीमा रहेका बेला पोखराको हल्लनचोकमा छ जनाको समूहले उनलाई घेराबन्दी गरेको थियो।
मंगलबार सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले आयोजना गरेको कार्यक्रममा एसपी कार्कीले अभियानको उपलब्धि र चुनौतीबारे जानकारी गराएका थिए।
प्रहरीका अनुसार २०८२ असोज २७ गतेदेखि सुरु भएको अभियानको पहिलो दुई दिनमै करिब २५० मोटरसाइकल नियन्त्रणमा लिइएको थियो। अभियानको ३६५ दिनको अवधिमा कारबाहीमा परेका ८९८ मोटरसाइकलमध्ये ३६१ वटालाई पटकपटक नियम उल्लङ्घन गरेको कसुरमा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिएको थियो। अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ।
#२९जनाविरुद्ध मुद्दा, रातिको होहल्ला घटेको प्रहरीको दाबी
अभियानको पहिलो चरणमा अराजक गतिविधिमा संलग्न २९ जनाविरुद्ध मुद्दा चलाइएको एसपी कार्कीले बताए। कारबाहीपछि रातिको समयमा चर्को आवाज र अनावश्यक होहल्लाका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती कम भएको प्रहरीको दाबी छ।
#मोटरसाइकल मोडिफाइ गर्ने ग्यारेजमाथि पनि निगरानी
चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने ग्यारेजमाथि समेत प्रहरीले निगरानी बढाएको छ। पोखराका मोटरसाइकल चितवनसम्म पुर्याएर मोडिफाइ गर्ने गरिएको जानकारी आएको उल्लेख गर्दै एसपी कार्कीले नियमविपरीत काम गर्ने ग्यारेजमाथि पनि कारबाही गरिने बताए।
मोटरसाइकलमा गैरकानुनी परिवर्तन गरी ध्वनि प्रदूषण बढाउने कार्य रोक्न ग्यारेज सञ्चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ।
पोखरामा शान्ति सुरक्षा कायम गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा रातिको समयमा हुने अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले सञ्चालन गरिएको ‘अपरेसन ३६५’ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।

