धनुषामा चाडपर्व लक्षित सुरक्षा कडा, सवारी साधनमाथि दैनिक संयुक्त चेकिङ
चाडपर्वलाई लक्षित गर्दै मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओम अधिकारीको निर्देशनमा धनुषामा सवारी सुरक्षा जाँचलाई कडाइ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिरोमाइल धनुषाका इन्स्पेक्टर खगेन्द्रकुमार दाहालको कमाण्डमा दैनिक रूपमा संयुक्त चेकिङ सञ्चालन भइरहेको छ।
चाडपर्वका बेला बढ्ने सवारी चापलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण र अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरीले विशेष निगरानी बढाएको छ।
प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, अनुशासित भएर सुरक्षित यात्रा गर्न तथा दुर्घटना न्यूनीकरण अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

