“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन” अन्तर्गत जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत एआईजीसहितको टोलीद्वारा जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण तथा अनुगमन गरिएको छ ।
निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह तथा प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य सहितको केन्द्रीय मूल्याङ्कन टोलीले जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय भवन तथा विभिन्न शाखाहरूको निरीक्षण र अवलोकन गरेको हो।
टोलीले कार्यालयको समग्र व्यवस्थापन, शाखाहरूको कार्यसम्पादन तथा प्रहरी कर्मचारीको जिम्मेवारी निर्वाहको अवस्थाबारे अवलोकन गरेको जनाइएको छ।
निरीक्षणपछि प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिँदै अनुशासन, जिम्मेवारी, व्यावसायिकता र नागरिकमैत्री प्रहरी सेवामा निरन्तर केन्द्रित हुन आग्रह गर्नुभएको छ।
प्रहरी कार्यदक्षता मूल्याङ्कनले कार्यालयको भौतिक अवस्थामात्र नभई प्रहरी संगठनको कार्यसम्पादन, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसमेत बोकेको छ।
नागरिकको सुरक्षा र विश्वास प्रहरी सेवाको मुख्य आधार भएकाले हरेक प्रहरी कर्मचारीको जिम्मेवारी, इमानदारी र सेवाभावले संगठनको छवि निर्माण गर्ने सन्देश निरीक्षणका क्रममा दिइएको छ।

