लेटाङ प्रहरीद्वारा लागूऔषधविरुद्ध सचेतना फैलाउन सवारीसाधनमा जनचेतनामूलक स्टिकर
लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय, लेटाङ र लेटाङ रनको सहकार्यमा जनचेतनामूलक स्टिकर वितरण तथा टाँस अभियान सञ्चालन गरिएको छ। ‘सचेतना नै दुर्व्यसनविरुद्धको पहिलो सुरक्षा कवच हो’ भन्ने सन्देशसहित तयार गरिएका विभिन्न डिजाइनका स्टिकरहरू लेटाङ क्षेत्रमा सञ्चालनमा रहेका सवारीसाधनमा टाँस गरिएको हो।
अभियानअन्तर्गत सार्वजनिक बस, बुलेरो, अटो, सिटी रिक्सा, मोटरसाइकल, स्कुटर, टेम्पो लगायतका सवारीसाधनमा यात्रु तथा सर्वसाधारणले सहजै देख्ने स्थानमा स्टिकर टाँस गरिएको छ। स्टिकरमार्फत लागूऔषधबाट टाढा रहन तथा युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन सन्देश प्रवाह गरिएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले लागूऔषध नियन्त्रणका लागि प्रहरीको कारबाहीसँगै जनचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए। उनले भने, “लागूऔषधविरुद्धको अभियान प्रहरीको मात्र नभई परिवार, समुदाय र सम्पूर्ण समाजको साझा अभियान हो। सवारीसाधनमा टाँस गरिएका यस्ता सन्देशले धेरै मानिससम्म सचेतनामूलक जानकारी पुर्याउन सहयोग गर्छ।”
साहले विशेषगरी युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन विद्यालय, अभिभावक, समुदाय तथा विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको बताए। लागूऔषध दुर्व्यसनले व्यक्ति स्वयंको भविष्यसँगै परिवार र समाजमा समेत नकारात्मक असर पार्ने भएकाले यसको रोकथामका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान भावी पुस्तालाई दुर्व्यसनबाट जोगाउने सामूहिक प्रयासको निरन्तरता भएको आयोजकले जनाएको छ। अभियानले लागूऔषधविरुद्धको सचेतना बढाउँदै परिवार तथा समुदायलाई सुरक्षित बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

