प्रहरी सई राम बुढाथोकी बने काभ्रेकै उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी नायव निरीक्षक राम कुमार बुढाथोकीलाई २०८३ साल भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत बुढाथोकीलाई कार्यालयको जिन्सी, हा#तह#तियार तथा गो#लाबा#रुदको अभिलेख चुस्त-दुरुस्त राख्नुका साथै डिजिटल इन्भेन्टरी म्यानेजमेन्ट सिस्टममा समेत प्रभावकारी व्यवस्थापन गरेबापत यो सम्मान प्रदान गरिएको हो।
विगत केही वर्षदेखि वेवारिसे अवस्थामा रहेका २२७ वटा मोटरसाइकल नियमानुसार लिलाम बिक्री गरी रु ४१ लाख १० हजार राजस्व सङ्कलनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनले सुम्पिएको जिम्मेवारी इमानदारिता र कर्तव्यनिष्ठाका साथ सम्पादन गरेका थिए।
उनको सोही उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीले असोज ५ गते एक औपचारिक निर्णयमार्फत उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।

