इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशको भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले उनलाई उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेका हुन्।
भोटेकोशी बाढीपछि ३८ वटा शव निकाल्ने उद्धार कार्यको सफल कमाण्ड, फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो।
२०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका सुवेदीले यसअघि धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबर, जिल्ला प्रहरी कार्यालय सोलु तथा काठमाडौंका दरबारमार्ग र लैनचौर प्रहरी वृत्तसहित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

