चाडपर्व लक्षित सुरक्षा र सीमानाकामा कडाइ गर्न एसएसपी पदम विष्टको निर्देशन
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी एसएसपी पदम विष्टले कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रका इलाका प्रहरी कार्यालय तथा सीमानाकाहरूको स्थलगत अनुगमन गर्नुभएको छ।
नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गर्दै उहाँले शान्ति सुरक्षा व्यवस्थालाई चुस्त र भरपर्दो बनाउन मातहतका सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको हो।
निरीक्षणका क्रममा एसएसपी विष्टले इलाका प्रहरी कार्यालय बेलौरी, बेलडाँडी तथा त्रिभुवनबस्तीको अनुगमन गरी त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको कार्यसम्पादन अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। चाडपर्वको समयमा सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उहाँले सुरक्षा निकायहरू थप सक्रिय हुनुपर्ने खाँचो औंल्याउनुभयो।
उहाँले खुला सीमानाकाको फाइदा उठाएर हुनसक्ने भन्सार छली, राजस्व चुहावट तथा लागुऔषधको अवैध ओसारपसार एवं कारोबार नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो। यसका साथै चाडपर्वका नाममा हुने जुवातास नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचसहित प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउन प्रहरी टोलीलाई निर्देशन दिनुभयो।

