डीआईजी ओम अधिकारीको कमाण्डमा प्रदेशका ८ वटै जिल्लाहरूमा ७ हजारभन्दा बढी प्रहरी टोली परिचालन गरी सुरक्षा व्यवस्थालाई कढाइका साथ कार्यान्वयन
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले तयार पारेको चाडपर्व सुरक्षा योजनाअनुसार प्रदेशका आठवटै जिल्लामा असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ।
सुरक्षा योजनाअनुसार मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओम अधिकारीका अनुसार आठवटै जिल्ला प्रहरी कार्यालयबाट गरी १ हजार ५११ ड्युटीमा ७ हजार २२९ प्रहरी खटाइने बताए । सबैभन्दा धेरै धनुषामा १ हजार ५९९ र सबैभन्दा कम सिरहामा ६५१ प्रहरी परिचालन हुनेछन्। पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने योजना छ ।
चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन क्यूआरटी, स्ट्राइकिङ, ट्राफिकसहितको चेकिङ, मोबाइल तथा पैदल गस्ती, शंकास्पद स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ र यात्रु सहायता कक्ष सञ्चालन समेत गरिने डिआईजी अधिकारीले बताए ।
त्यस्तै सीमा नाकामा चोरी तथा तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, बजार अनुगमन, कर्डन एन्ड सर्च, सभा–जुलुस तथा धर्नामा आकस्मिक सुरक्षा र विपद् प्रतिकार्य टोली परिचालन गरिनेछ। सीमा नाकामा हेल्प डेस्कसमेत सञ्चालन गरिने सुरक्षा योजनामा उल्लेख छ।
सुरक्षा योजनाअनुसार विभिन्न ड्युटीका लागि मात्रै ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन्। बाँकी जनशक्ति कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ।
प्रहरीले नेपाल–भारत खुला सीमा भएका कारण चाडपर्वका बेला अत्यधिक मानिसको आवतजावत हुने र तस्करी तथा अवैध सामान ओसारपसारको जोखिम बढ्न सक्ने आकलन गरेको छ।
त्यस्तै धनुषाको भीडभाड क्षेत्रमा सञ्चालन गरिएको रोटेपिङ झुलाले हुन सक्ने सम्भावित जोखिम आकलन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले रोक लगाएको छ।
त्यसैगरी पटका तथा आतिसबाजीबाट आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट झैझगडा तथा कुटपिट, घरेलु हिंसा, पाकेटमारी, चोरी र लुटपाट हुन सक्ने जोखिमलाई प्रहरीले मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ।
चाडपर्वमा सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैतीको जोखिम, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमका कारण रात्रिकालीन शान्ति सुरक्षामा चुनौती र धार्मिक कार्यक्रम तथा ध्वनि प्रयोगलाई लिएर स्थानीय विवाद हुन सक्ने सम्भावनासमेत सुरक्षा योजनामा उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। भीडमा हराउने वा दुर्व्यवहार हुन सक्ने जोखिमसँगै अवैध मदिरा, लागुऔषध तथा प्रतिबन्धित पदार्थको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिमाथि निगरानी गरिनेछ।
सामाजिक सञ्जालमार्फत गलत सूचना तथा अफवाह फैलाएर तनाव सिर्जना हुन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरीले निगरानी बढाउने भएको छ। आगलागी, विद्युत् सर्ट, भीडजन्य दुर्घटना तथा अन्य आकस्मिक विपद्लाई समेत सुरक्षा चुनौतीका रूपमा राखिएको छ।

