#सिआईबी प्रमुख एआईजी उमा चतुवेदीको सक्रियता बढेसँगै ठगीमा संलग्न आरोपितहरू धमाधम पक्राउ
#इजरायल ठगी प्रकरणमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ, सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीको सक्रियतामा अनुसन्धान तीव्र
जीटूजीमार्फत इजरायलमा केयरगिभर पठाइदिने भन्दै साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा कांग्रेस केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।
इजरायल रोजगारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र बनाएको छ। सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा भइरहेको अनुसन्धानका क्रममा खड्कालाई पक्राउ गरिएको हो।
खड्का नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला महिला तर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उनी यसअघि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
सीआईबी प्रमुख एआईजी चतुर्वेदीका अनुसार खड्कालाई आज पक्राउ गरिएको हो। यसअघि प्रहरीले रामेछापकै भरत चौलागाईं र बालिका शिवाकोटीसहित चार जनालाई पक्राउ गरिसकेको छ। चौलागाईं कांग्रेसका नेता हुन् भने शिवाकोटी कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन्।
#कसरी भयो इजरायल रोजगारीका नाममा ठगी?
सीआईबीका अनुसार सन् २०२४ मा इजरायलमा केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षामा उत्तीर्ण भएर प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीलाई लक्षित गरी ठगी गरिएको थियो। परीक्षामा उत्तीर्ण भएका ३ हजार ४६१ जनामध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा थिए।
प्रतीक्षा सूचीमा रहेका युवाहरूको रोजगारीप्रतिको आशा र बाध्यताको फाइदा उठाउँदै गिरोहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग निकट सम्बन्ध रहेको तथा मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै झुटो आश्वासन दिएको सीआईबीको भनाइ छ।
पहिलो चरणमा १५६ जना युवालाई इजरायल पठाइदिने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नक्कली कागजातसमेत देखाएर २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको प्रहरीले जनाएको छ।
#पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह
यस प्रकरणमा थप पीडित हुन सक्ने आशंकाबीच प्रहरीले हिजो मात्रै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन सार्वजनिक आह्वान गरेको थियो।

