जाजरकोट प्रहरीको सक्रियतामा ‘म दुर्घटना गर्दिनँ’ अभियान, चालक – सहचालकले गरे सुरक्षित यात्राको प्रतिबद्धता
चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जाजरकोट सदरमुकाम खलंगामा ‘म दुर्घटना गर्दिनँ’ भन्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय संयुक्त आयोजनामा भेरी नगरपालिका–४, शान्तिचौतारास्थित यात्रु सहायता कक्षमा अभियान सञ्चालन गरिएको हो। अभियानमा चालक, सहचालक तथा अन्य सरोकारवालाहरूले सुरक्षित यात्रा सुनिश्चित गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन्।
चाडपर्वका समयमा सवारीसाधनमा यात्रुको चाप बढ्ने र चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले सडक सुरक्षाबारे जनचेतना फैलाउन अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
अभियानमार्फत चालक तथा सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिएको छ। साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले चाडपर्वका बेला सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा आइपर्ने समस्या समाधान गर्न तथा यात्रुहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको बताउनुभयो।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी नवराज बरालले सडक दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक, यात्रु, यातायात व्यवसायी र सम्बन्धित सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक नियमको पालना, सचेतना र जिम्मेवार व्यवहार आवश्यक रहेको सन्देशसहित सञ्चालन गरिएको अभियानले चाडपर्वका बेला दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

