समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमलाई लक्षित गरी काठमाडौंको नयाँ बसपार्कस्थित गोंगबुँ क्षेत्रमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ।
ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्क, प्रहरी प्रभाग गोंगबुँ, नयाँ बसपार्क तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको संयुक्त आयोजनामा आज शनिबार यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।
चाडपर्वको समयमा आवतजावत गर्ने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्न तथा यात्राका क्रममा पर्न सक्ने समस्या समाधानमा सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो।
यस कार्यक्रममार्फत यात्रुहरूलाई आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा सम्बन्धी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै, चाडपर्वका बेला हुन सक्ने यात्रु ठगी, बढी भाडा असुली तथा अन्य सम्भावित समस्याबारे यात्रुलाई सचेत गराउन पनि यस्तो पहलले सहयोग पुर्याउने विश्वास गरिएको छ।

