दोलखाका प्रहरीद्वारा ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
जिल्ला प्रहरी कार्यालय चरिकोट, दोलखा तथा मातहतका प्रहरी इकाईहरूले चाडपर्व लक्षित यात्रु सहायता कक्ष २०८३ असोज २४ गतेदेखि जिल्लाका ६ स्थानमा सञ्चालनमा ल्याएका छन्।
भीमेश्वर नगरपालिका–६ सातदोबाटो, कालिञ्चोक गाउँपालिका–३ सिंगटी बजार, जिरी नगरपालिका–५ बसपार्क, भीमेश्वर नगरपालिका–९ खरिढुंगा, तामाकोसी गाउँपालिका–५ किर्नेटार र भीमेश्वर नगरपालिका–५ तामाकोसी बजारमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
सहायता कक्षबाट यात्रुका गुनासो सुनुवाइ, बढी भाडा असुलीलगायतका अनियमितता नियन्त्रण, आवश्यक सूचना तथा सहजीकरण र आपत्कालीन उद्धारमा सहयोग गरिनेछ।
प्रहरीले यात्राका क्रममा बढी भाडा असुली, दुर्व्यवहार वा अन्य कुनै समस्या भएमा तत्काल नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गरी गुनासो राख्न यात्रुहरूलाई आग्रह गरेको छ।

