७१औँ प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम सम्पन्न, १११ जनाले गरे रक्तदान
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय, पर्साको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १११ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका छन्।
आकस्मिक अवस्थामा रगतको सहज उपलब्धता सुनिश्चित गर्दै मानवजीवनको रक्षा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रदेश प्रहरी कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको महत्त्वलाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

