एसपी नवीन कार्कीद्वारा प्रहरी चेकपोस्ट जौवारीको नवनिर्मित भवन उद्घाटन
कास्कीको पोखरा महानगरपालिका–१८, लामाचौर जाने पुलनजिक नवनिर्मित प्रहरी चेकपोस्ट जौवारीको कार्यालय भवन उद्घाटन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले आइतबार भवनको उद्घाटन गर्नुभएको हो।
पोखरा महानगरपालिका–१ मा रहेको प्रहरी बिट जौवारी २०८२ भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको थियो। साथै, मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने भएपछि पोखरा महानगरपालिका–१८ स्थित सार्वजनिक जग्गामा नयाँ भवन निर्माण गरिएको हो।
विभिन्न सहयोगदाता, समाजसेवी तथा व्यवसायीको सहयोगमा करिब २१ लाख ७४ हजार ३२८ रुपैयाँ लागतमा एकतले पक्की भवन निर्माण सम्पन्न भएको हो।
कार्यक्रममा पोखरा महानगरपालिका–१ का वडाध्यक्ष साहारा प्रधान, वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक केन्द्र बगरका अध्यक्ष कृष्ण तामाङलगायत जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको उपस्थिति थियो।
सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने दाताहरू तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मानसमेत गरिएको थियो।

